जनकपुरधाम । मधेस प्रदेशमा सामाजिक सद्भाव कायम राख्न प्रहरीले सुरक्षा निगरानी थप कडा बनाएको छ। सामाजिक सञ्जालमार्फत उत्तेजक सामग्री प्रसारण गरी हिंसा भड्काउने आरोपमा शुक्रबार सिरहाबाट पाँच र धनुषाबाट तीन गरी आठ जनालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामाथि विद्युतीय माध्यमको दुरुपयोग गर्दै साम्प्रदायिक तथा सामाजिक सद्भावमा असर पुग्ने सामग्री फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ। पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा फैलिएका भ्रामक र उत्तेजक सामग्रीले तनाव बढाउने जोखिम देखिएपछि निगरानी पनि बढाइएको छ।

यसअघि सर्लाहीमा बाहिरी जिल्लाबाट प्रदर्शनमा सहभागी हुन पुगेका पाँच जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। घटनापछि सुरक्षा निकायले बाहिरी समूहको गतिविधिमाथि समेत विशेष निगरानी राखेको छ।

वर्तमान अवस्थालाई मध्यनजर गर्दै धनुषा, सिरहा र सप्तरीमा कफ्र्यु जारी छ भने पर्सामा निषेधाज्ञा लागू गरिएको छ। सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू मधेसमै खटिएका छन्।

यस्तै, प्रतिनिधिसभाका केही सदस्य पनि प्रभावित क्षेत्रमा पुगेर स्थानीय समुदाय, प्रशासन र सुरक्षा निकायसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राख्न पहल गरिरहेका छन्।