काठमाडौं। चीन–इरान सैन्य सहकार्यको नयाँ अध्याय सुरु भएको दाबी गरिएको छ। अमेरिका–इजरायलसँगको युद्धपछि कमजोर बनेको हवाई प्रतिरक्षा प्रणाली पुनः बलियो बनाउन इरानले चीनसँग ३०० देखि ४०० वटा म्यानप्याड्स हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रोयटर्सका अनुसार सम्झौतामा क्यूडब्ल्यू–१२ र एफएन–१६ मिसाइल प्रणाली समावेश छन्, जसले कम उचाइमा उड्ने लडाकु विमान, हेलिकप्टर र ड्रोनलाई लक्ष्य बनाउन सक्छन्। पहिलो खेप केही साताभित्र चीनबाट पठाइने तयारी रहेको दाबी गरिएको छ, यद्यपि ढुवानीको मार्ग भने अझै सार्वजनिक गरिएको छैन।

यता चीनले भने इरानलाई हतियार बिक्री गरेको दाबी अस्वीकार गर्दै समाचारलाई निराधार भनेको छ। तर रक्षा विश्लेषकहरूले यो सम्झौता कार्यान्वयन भए इरानको हवाई सुरक्षा क्षमता उल्लेखनीय रूपमा बलियो हुने र चीन–इरान सैन्य सहकार्य थप गहिरिने बताएका छन्। उनीहरूका अनुसार यसले मध्यपूर्वको सुरक्षा समीकरणसँगै विश्व शक्ति सन्तुलनमा पनि नयाँ प्रभाव पार्न सक्ने सम्भावना रहेको छ।