काठमाडौं । अमेरिका र चीनबीचको प्रविधि युद्ध थप चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै चीनमा बनेका नयाँ ह्युमनोइड (मानवजस्तै) रोबोट, चारखुट्टे रोबोट र पावर इन्भर्टरमाथि कडा प्रतिबन्ध लगाएको छ। यो निर्णयसँगै कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्स क्षेत्रमा विश्वका दुई महाशक्तिबीचको प्रतिस्पर्धा नयाँ चरणमा प्रवेश गरेको छ।
अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले चीनमा निर्मित नयाँ रोबोट र विद्युत् ग्रिड तथा डाटा सेन्टरमा प्रयोग हुने पावर इन्भर्टर अब अमेरिकामा आयात गर्न नपाइने निर्णय गरेको हो। अमेरिकी अधिकारीहरूका अनुसार यस्ता उपकरणले संवेदनशील डाटा सङ्कलन, साइबर आक्रमण र महत्त्वपूर्ण पूर्वाधारमा हस्तक्षेप गर्न सक्ने जोखिम बढाउने भएकाले प्रतिबन्ध आवश्यक भएको हो।
वाशिङ्टनको दाबी छ-चीनमाथिको प्रविधिगत निर्भरता घटाउँदै अमेरिकी एआई उद्योग, डाटा सेन्टर र राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्न यो कदम चालिएको हो। विशेष गरी रोबोटमार्फत औद्योगिक तथा रणनीतिक सूचना बाहिरिन सक्ने सम्भावनालाई अमेरिकाले गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको छ।
यता बेइजिङले भने अमेरिकाको निर्णयलाई राजनीतिक प्रेरित भन्दै कडा विरोध जनाएको छ। वाशिङ्टनस्थित चिनियाँ दूतावासले चिनियाँ कम्पनीहरूको बदनाम गर्न खोजिएको आरोप लगाउँदै आफ्नो हितमा असर पर्ने कुनै पनि कदमको कडा प्रतिकार गरिने चेतावनी दिएको छ।
यो प्रतिबन्धको सबैभन्दा ठूलो असर विश्वकै अग्रणी चिनियाँ रोबोट निर्माता युनिट्रीमाथि पर्ने अनुमान गरिएको छ। विश्व ह्युमनोइड रोबोट बजारको करिब २० प्रतिशत हिस्सा ओगटेको युनिट्रीलाई अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै चिनियाँ सेनासँग सम्बन्धित कम्पनीको सूचीमा राखिसकेको छ।
अमेरिकी पक्षले चिनियाँ रोबोटले अमेरिकी उद्योग, अनुसन्धान संस्था र पूर्वाधारबाट संवेदनशील डाटा सङ्कलन गरी चीन पठाउन सक्ने आशंका व्यक्त गर्दै आएको छ। साथै, पावर इन्भर्टरमार्फत ऊर्जा प्रणालीमा साइबर जोखिम बढ्न सक्ने चेतावनी पनि दिइएको छ।
विश्लेषकहरू यो निर्णय केवल व्यापारिक प्रतिबन्ध मात्र होइन, एआई, रोबोटिक्स, साइबर सुरक्षा र विश्व प्रविधि नेतृत्वको प्रतिस्पर्धामा अमेरिका–चीनबीचको नयाँ शक्ति संघर्षको संकेत हो। आगामी दिनमा यसले विश्व प्रविधि बजार, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत ठूलो प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।





































