काठमाडौं । भारतमा मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र लिक प्रकरणलाई लिएर युवा आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार युवाका मागप्रति गम्भीर रहेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक सन्देशमा मोदीले प्रश्नपत्र चुहावट प्रकरणमा निष्पक्ष छानबिन र द्रुत न्यायिक प्रक्रियामार्फत दोषीमाथि कडा कारबाही गरिने स्पष्ट पारेका छन्।
उनले युवाको भविष्य कुनै पनि हालतमा सम्झौताका विषय बन्न नसक्ने उल्लेख गर्दै शिक्षा प्रणालीप्रति विश्वास कायम गर्न सरकारले आवश्यक सबै सुधार अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
पछिल्ला दिनहरूमा परीक्षा प्रणालीको पारदर्शिता, रोजगारी र अवसरको सुनिश्चिततासम्बन्धी माग राख्दै भारतका विभिन्न स्थानमा युवा प्रदर्शन भइरहेका छन्। यही पृष्ठभूमिमा आएको मोदीको सन्देशलाई आन्दोलनकारीको असन्तुष्टि सम्बोधन गर्ने सरकारी प्रयासका रूपमा हेरिएको छ।






































