काठमाडौं। लोकसेवा आयोगमार्फत हुने सरकारी पदपूर्तिमा नयाँ प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परीक्षार्थी विद्यार्थीहरू सडकमा उत्रिएका छन्। सरकारको नयाँ प्रशासनिक निर्णयले लोकसेवा आयोगमार्फत हुने कर्मचारी भर्ना प्रक्रियामै असर पर्ने भन्दै लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् । 

विद्यार्थीहरूको मुख्य माग साउन ४ गते मुख्यसचिवस्तरीय बैठकले गरेको २२ बुँदे निर्णयको बुँदा नम्बर ११ तत्काल खारेज गर्नुपर्ने रहेको छ। उनीहरूका अनुसार उक्त निर्णयले नियमित रूपमा खुल्ने लोकसेवा विज्ञापन नै रोकिने अवस्था सिर्जना गर्नेछ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षभर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी निकायले नयाँ दरबन्दी सिर्जना गर्न नपाउने निर्णय गरेको थियो। साथै, स्थायी पदपूर्तिका लागि पनि प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना लोकसेवा आयोगमा माग पठाउन नपाइने व्यवस्था गरिएको छ।

सरकारले सार्वजनिक खर्च नियन्त्रण र कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो निर्णय गरेको भए पनि परीक्षार्थीहरूले यसले लोकसेवा आयोगको स्वतन्त्र प्रक्रिया कमजोर बनाउने र हजारौं युवाको रोजगारीको अवसर प्रभावित हुने दाबी गरेका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारले निर्णय सच्याएर लोकसेवा आयोगलाई नियमित रूपमा विज्ञापन खोल्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। अन्यथा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि उनीहरूले दिएका छन्।