नयाँदिल्ली। विपक्षी नेता राहुल गान्धीले हिरासतबाटै सरकारसमक्ष ५ बुँदे माग सार्वजनिक गरेपछि भारतको राजनीति थप तातेको छ। प्रधानमन्त्री निवासबाहिर भएको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुलले भिडियो सन्देशमार्फत गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, विद्यार्थीमाथिको दमनमा संलग्नमाथि कारबाही, आन्दोलनकारीमाथिका सबै मुद्दा खारेज, संसदमा शिक्षा र प्रश्नपत्र लीक प्रकरणबारे तत्काल बहस तथा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीबाट सार्वजनिक माफीको माग गरेका छन्।
राहुलसँगै प्रियंका गान्धी, अखिलेश यादवलगायत विपक्षी नेताहरू पनि केही समय हिरासतमा परेका थिए। उनीहरूलाई पछि रिहा गरिए पनि आन्दोलन भने झन् चर्किएको छ। दिल्लीको जन्तर–मन्तरमा विद्यार्थी आन्दोलनलाई समर्थन गर्न विभिन्न विपक्षी दलका नेताहरू पुगेका छन् भने केरल, असम, उत्तर प्रदेशलगायत राज्यमा पनि विरोध प्रदर्शन सुरु भएको छ।
=यता केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले कांग्रेसले विद्यार्थीलाई राजनीतिक हतियार बनाएको आरोप लगाउँदै सरकार संसदमा छलफल गर्न तयार हुँदाहुँदै विपक्षीले सडक आन्दोलन रोजेको टिप्पणी गरेका छन्। थप प्रदर्शन हुन सक्ने अनुमानसँगै संसद् भवन, प्रधानमन्त्री निवास र मध्य दिल्लीका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।






































