काठमाडौं ।भारतको राजधानी नयाँ दिल्ली यतिबेला युवा आन्दोलनको केन्द्र बनेको छ। हजारौँ जेनजी प्रदर्शनकारी शिक्षा प्रणालीमा आमूल सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै सडकमा उत्रिएका छन्। केही महिनाअघि सामाजिक सञ्जालमा व्यंग्य अभियानका रूपमा सुरु भएको ‘ कक्रोज जनता पार्टी अहिले देशव्यापी युवा आन्दोलनमा रूपान्तरण भएको छ।
संसद् भवनतर्फ ‘संसद् मार्च’ गर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि जन्तरमन्तर क्षेत्रमा तनाव चुलिएको थियो। त्यसक्रममा दिल्ली प्रहरी र र्यापिड एक्सन फोर्स ले लाठीचार्ज गर्दा दर्जनौँ प्रदर्शनकारी घाइते भएको दाबी गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा रगताम्य विद्यार्थी, सडकभरि छरिएका चप्पल र प्रदर्शनकारीलाई घिसार्दै नियन्त्रणमा लिइरहेका सुरक्षाकर्मी देखिएका छन्।
आन्दोलनकारीहरूको आरोप छ– सरकारले शान्तिपूर्ण विरोधमाथि बल प्रयोग गरेर युवाको आवाज दबाउन खोजेको छ। यद्यपि, दिल्ली प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास भएपछि बल प्रयोग गर्नुपरेको दाबी गरेको छ।
आन्दोलनको नेतृत्व गरिरहेको सीजेपी ले सरकारसमक्ष तीन मुख्य माग अघि सारेको छ– शिक्षामन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा, शिक्षा प्रणालीमा व्यापक सुधार र परीक्षा प्रकरणपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति। साथै, उनीहरूले सामाजिक अभियन्ता सोनाम वाङचुकको रिहाइ पनि मागेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनबारे हालसम्म सार्वजनिक प्रतिक्रिया नदिए पनि विपक्षी दल, मानवअधिकारकर्मी र केही चर्चित सार्वजनिक व्यक्तित्वले प्रदर्शनकारीको समर्थन गरेका छन्। विश्लेषकहरूका अनुसार यो आन्दोलन मोदी सरकारका लागि पछिल्ला वर्षकै सबैभन्दा ठूलो युवा राजनीतिक चुनौतीका रूपमा उभिएको छ।





































