काठमाडौँ। लालबन्दी नगर वाङ्मय परिषद्ले स्थापना गरेको विभिन्न तीन वटा पुरस्कार एक समारोहबीच समर्पण गरिएको छ । ती पुरस्कारमा कृष्णलाल अधिकारी स्मृति पुरस्कार, भाषा–साहित्य पुरस्कार र स्थानीय प्रतिभा पुरस्कार छन् । 

कविता तथा गीतमार्फत साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत कवि तथा गीतकार दिनेश अधिकारीलाई ‘कृष्णलाल अधिकारी’ स्मृति पुरस्कार प्रदान गरिएको परिषद्ले जनाएको छ । 

त्यसैगरी, उत्कृष्ट पुस्तक घोषित कथासङ्ग्रह ‘एउटा मायावी नगरमा’का लागि कवि तथा कथाकार रमेश क्षितिज भाषा–साहित्य पुरस्कारबाट सम्मानित हुनुभएको हो ।  

स्थानीय तहमा साहित्य तथा पत्रकारिताका क्षेत्रमा सक्रिय योगदान पु¥याएबापत कृष्ण समर्पणलाई ‘स्थानीय प्रतिभा’ पुरस्कार प्रदान गरिएको थियो । 

लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले पुरस्कृत व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा नगर प्रमुख अधिकारी, पुरस्कृत कवि दिनेश अधिकारी तथा लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले साहित्य, भाषा र सिर्जनशीलताको प्रवर्द्धनमा यस्ता पुरस्कारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कृष्णलाल अधिकारी स्मृति पुरस्कार र भाषा–साहित्य पुरस्कारको राशि जनही रु ५० हजार तथा स्थानीय प्रतिभा पुरस्कारको राशि रु २५ हजार रहेको परिषद्ले जनाएको छ ।