काठमाडौं / पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ ।
साउन २७ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक महोत्सवमा भजन, कीर्तन, नाचगान तथा आध्यात्मिक प्रवचनलगायतका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । संकल्पकर्ता राजानन्द माण्डव्य महोत्सवको उद्देश्य वैदिक सनातन धर्मप्रति भक्तजनलाई जागृत गराउनु रहेको बताए । उनले बृहस्पति अस्त भएका कारण विशेष यज्ञ तथा अनुष्ठान गर्न नमिल्ने समयलाई धार्मिक जागरणका रूपमा उपयोग गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।
‘श्रावण महिना भगवान् शिवको विशेष महिना भएकाले यस अवधिभर पशुपतिनाथमा भक्तजनको विशेष उपस्थिति हुनेगर्छ । यही अवसरलाई लक्षित गरेर महोत्सव आयोजना गरिएको हो । ३० लाख भन्दा बढी भक्तजन चाहिँ प्रत्यक्ष दर्शन गर्नुहुन्छ भन्ने अपेक्षा छ । थप विदेशीहरु पनि आउनुहुन्छ । भारतीय भक्तजनलाई जोड्ने हो भने त ५० लाख हाराहारी भक्तजनले दर्शन गर्नुहुन्छ भन्ने अनुमान छ ।’
उनका अनुसार साउन महिनाभर पशुपतिनाथमा लाखौँ भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । नेपाली भक्तजनसँगै भारतीय तथा अन्य विदेशी भक्तजनसमेत सहभागी हुँदा भक्तजनको संख्या अझ बढ्ने उनले बताए । माण्डव्य नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए । उनले तिब्बतमा रहेको कैलाश पुग्न धेरै समय र खर्च लाग्ने भएकाले नेपालमै धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा कैलाश धाम निर्माण गर्न पहल भइरहेको बताए ।
उनले भने, ‘कैलाश धाम निर्माणको लक्ष्य राखेका छौं । कैलाश धाम नेपालमा छैन । तिब्बतमा छ । विशेषतः चाइनिजहरू त हिन्दु छैनन् नि । हिन्दु त हामी हौं । सवा अर्ब हिन्दुहरूलाई चाइना पठाउने त एउटा बाटो छँदैछ, चाइना कष्टकर पनि भयो । र कैलाश पुगेर आउन दुईदेखि अढाइ लाख रूपैयाँ पैसा खर्च हुन्छ,’ उनले भने ।
उनका अनुसार बनेपा नगरपालिकामा सरकारी जग्गा उपलब्ध भएमा भक्तजनको सहयोगमा करिब १५ देखि २० करोड रुपैयाँ लागतमा दिव्य कैलाश धाम निर्माण गर्ने योजना छ । ‘पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनले करिब २५ किलोमिटर दूरीमा रहेको कैलाश धामको समेत दर्शन गर्न सक्ने वातावरण बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने । महोत्सवलाई लिएर केही व्यक्तिले आर्थिक संकलनसँग जोडेर आलोचना गरेको भए पनि यज्ञ तथा धार्मिक कार्यक्रमको उद्देश्य केवल पैसा उठाउनु नभएको उनको भनाइ छ ।
उनले यज्ञ सम्पन्न गर्न आवश्यक खर्च भक्तजनको सहयोगबाट जुटाइने र बाँकी रकम कैलाश धाम निर्माणमा प्रयोग गरिने बताए । उनले धार्मिक पर्यटन र सनातन संस्कृतिको संरक्षणका लागि यस्ता अभियान आवश्यक रहेको उल्लेख गरे । साँगाको शिव मूर्ति र पोखराको पुम्दीकोट धार्मिक पर्यटनका उदाहरण भएको भन्दै उनले कैलाश धाम निर्माणले पनि धार्मिक तथा पर्यटकीय विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
माण्डव्यले महोत्सवमा सरकारका प्रतिनिधि तथा जनप्रतिनिधिहरूबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताए । उनका अनुसार साउन २७ गतेसम्म शिव नाम संकीर्तन, भजन, कीर्तन, नाचगान र आध्यात्मिक प्रवचन सञ्चालन हुनेछ । त्यसपछि बृहस्पति उदय भएपछि साउन २७ देखि ३१ गतेसम्म लिङ्ग पुराण आयोजना गरिनेछ । साउन ३० गते पर्ने बराह जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने र सो दिन सवा करोड दीप प्रज्वलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
दीप प्रज्वलनका लागि इच्छुक भक्तजनलाई कर्ताका रूपमा सहभागी हुन आह्वान गरिएको छ ।






































