काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको दबाब, अवरोध वा त्रास लोकतान्त्रिक व्यवस्थामाथिकै आक्रमण भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले राजधानीस्थित एक सञ्चारगृहको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत रोक्ने प्रयासको कडा आलोचना गरे।
परियारले तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सैनिक समाचार कक्षभित्रै पुगेर समाचार सेन्सर गर्थे। त्यो बेला नझुकेको नेपाली प्रेस आज सडकमा दुई–चार गाडी तेर्स्याएर तर्सिँदैन भन्दै प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने कुनै पनि प्रयास सफल नहुने दाबी गरे।
सत्यलाई दबाउने प्रयास ूहत्केलाले सूर्य छेक्न खोजेजस्तैू हुने टिप्पणी गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए। साथै, सञ्चारगृह र पत्रकारले त्रासरहित वातावरणमा काम गर्न पाउने सुनिश्चितता गर्न सरकार र गृह प्रशासनसँग उनले माग गरे।






































