काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको भूमिकामाथि खुला असन्तुष्टि जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याल निष्पक्ष र समन्वयकारी भूमिकामा देखिन नसकेको आरोप लगाएका हुन्।

उनले संसद्भित्र विपक्षी दलहरूको धारणा सीमित गर्ने प्रयास स्वीकार्य नहुने भन्दै सबै दललाई आफ्नो कुरा राख्ने समान अवसर दिन सभामुखलाई आग्रह गरे।

आङ्देम्बेले सभामुख कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण संसद्को अभिभावक भएकाले विपक्षीको ‘नाडी छाम्ने’ होइन, निष्पक्ष रूपमा सदन सञ्चालन गर्ने जिम्मेवारी निभाउनुपर्ने बताए।

कांग्रेसले सत्तापक्षले प्रतिपक्षसँग पर्याप्त समन्वय नगर्दा संसद्मा बारम्बार विवाद र अवरोध सिर्जना भइरहेको आरोपसमेत लगाएको छ।