काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले सरकारले प्रस्तुत गरेको १६औँ योजनाको आर्थिक लक्ष्यमाथि प्रश्न उठाएकी छन्। अर्थ समितिको बैठकमा बोल्दै उनले कार्यान्वयनको स्पष्ट आधारबिना ठूलो अर्थतन्त्रको लक्ष्य राखेर मात्र समृद्धि हासिल नहुने बताइन्।
उनले २०८५।८६ सम्म १०३ खर्ब रुपैयाँको अर्थतन्त्र बनाउने सरकारी लक्ष्य यथार्थपरक बनाउन पुँजीगत खर्च, निजी लगानी र औद्योगिक विकासमा के नयाँ व्यवस्था गरिएको छ भन्ने स्पष्ट हुनुपर्ने धारणा राखिन्।
राणाले उद्योग क्षेत्रलाई न्यून प्राथमिकता दिइएको, निजी लगानी घटिरहेको, उद्योगहरू बन्द हुँदै गएको र युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरहेको अवस्थामा कागजी लक्ष्यले मात्रै आर्थिक रूपान्तरण सम्भव नहुने बताइन्।
साथै, रोजगारी सिर्जना, राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र लगानीमैत्री वातावरण निर्माणमा सरकारको कार्यसम्पादनप्रति पनि उनले असन्तुष्टि व्यक्त गरिन्।





































