काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते औपचारिक रूपमा समापन गर्ने भएको छ। तर अभियानसँगै जोडिएको क्रियाशील सदस्यता विवाद भने अझै समाधान हुन सकेको छैन।

पार्टी केन्द्रीय कार्यालयले साउन ३ गतेसम्म नयाँ क्रियाशील सदस्यको विवरण अनलाइन प्रविष्टि र सदस्यता फारम वितरण गर्ने समय थप गरेको छ। त्यसपछि प्रतिवेदन संकलन गरी बीपी कोइरालाको स्मृति दिवसको अवसरमा अभियान समापन गरिनेछ। जरा अभियानमार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’, सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणलाई अनिवार्य बनाएको छ। तर शेरबहादुर देउवा र डा। शेखर कोइराला पक्षले पुराना सदस्यलाई पुनः विवरण भर्न र फोटो खिच्न बाध्य बनाइएको भन्दै असहमति जनाएको छ।

पार्टीभित्रको यही विवादले १५औँ महाधिवेशनको तयारीसँगै आन्तरिक ध्रुवीकरण समेत बढाएको छ। अब जरा अभियान सकिए पनि सदस्यता विवादले कांग्रेसको आन्तरिक राजनीति अझै तात्ने संकेत देखिएको छ।