काठमाडौं। विदेशी नाममा चलिरहेका शैक्षिक कार्यक्रम अब सरकारको कडा निगरानीमा परेका छन्। मन्त्रालयको अनुमति नलिई ए–लेभल, सीबीएसई, आईबीडीपीजस्ता कार्यक्रम सञ्चालन गर्ने विद्यालय तथा कलेजलाई कारबाही हुने चेतावनी दिइएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले विदेशी शैक्षिक कार्यक्रम सञ्चालनमा नयाँ नियम कडाइका साथ लागू गर्ने भएको छ। मन्त्रिपरिषद्ले हालै विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेपछि मन्त्रालयले अनुमति नलिई सञ्चालन भइरहेका ए–लेभल, सीबीएसई, आईबीडीपीलगायतका कार्यक्रममाथि कानुनी कारबाही गर्ने स्पष्ट गरेको हो।
मन्त्रालयका अनुसार केही शैक्षिक संस्थाले आधिकारिक स्वीकृतिबिनै विदेशी पाठ्यक्रम सञ्चालन गरिरहेको पाइएकाले अब यस्ता गतिविधिमाथि निगरानी बढाइनेछ। यस्तै, अनुमति बिना सञ्चालन भइरहेका कार्यक्रमबारे जानकारी भए तीन दिनभित्र मन्त्रालयमा लिखित सूचना दिन सर्वसाधारण र सरोकारवालासँग पनि आग्रह गरिएको छ।
मन्त्रालयले नयाँ नियमावलीमार्फत विदेशी सम्बन्धनमा सञ्चालित शैक्षिक कार्यक्रमको गुणस्तर सुधार, पारदर्शिता र प्रभावकारी नियमन सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ।
अब विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्न केवल सम्बन्धन मात्र होइन, सरकारको आधिकारिक अनुमति पनि अनिवार्य हुने भएको छ। नियम उल्लङ्घन गर्ने संस्थामाथि कानुनी कारबाही अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।






































