काठमाडौं। संघीय संसदबाट पारित चार महत्वपूर्ण विधेयकले अब कानुनी मान्यता पाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ती विधेयक प्रमाणीकरण गरेसँगै कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण अर्थात् मनी लाउन्डरिङ निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गरेका हुन् ।
यी चारै विधेयक संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित भई संविधानबमोजिम राष्ट्रपतिको कार्यालयमा पुगेका थिए। प्रमाणीकरण भएसँगै अब सम्बन्धित कानुनहरू कार्यान्वयन गर्ने औपचारिक प्रक्रिया सुरु हुनेछ। सरकारका अनुसार यी संशोधनले सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित बनाउन, अवैध सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई प्रभावकारी बनाउन, सहकारी क्षेत्रको नियमन बलियो बनाउन र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्था अद्यावधिक गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै चारवटै विधेयक अब कानुनका रूपमा लागू हुने चरणमा प्रवेश गरेका छन्।






































