जनकपुरधाम। सरकारसँग पटक–पटक सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै मिटरब्याज पीडित फेरि सडकमा उत्रिएका छन्। जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च सुरु गर्दै उनीहरूले यसलाई निर्णायक आन्दोलनु घोषणा गरेका छन्।

जनकपुरधामबाट देशभरका मिटरब्याज पीडितले काठमाडौं केन्द्रित पैदल यात्रा सुरु गरेका छन्। मार्चअघि उनीहरूले फर्जी तमसुक जलाउँदै वित्तीय शोषणविरुद्ध कडा विरोध जनाए भने मशाल प्रज्वलन गरेर आन्दोलनको सुरुआत गरेका हुन्।

आन्दोलनका अगुवा रमेश सेन्चुरीले सरकारसँग भएका चारवटा सहमति कार्यान्वयन नभएको आरोप लगाए।उनले प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि १०० दिन बितिसक्दा पनि कुनै ठोस काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। पीडितहरूले अब काठमाडौं पुगेर सरकारलाई दबाब दिने तयारी गरेका छन्।

सरकारले समयमै माग सम्बोधन नगरे आन्दोलन थप सशक्त बन्ने चेतावनी मिटरब्याज पीडितले दिएका छन्। अब काठमाडौं पुग्ने यो पैदल मार्चले सरकारको प्रतिक्रिया कस्तो आउँछ भन्नेमा सबैको नजर छ।