काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्। बिहीबार दिउँसो राहदानी विभागको गेट नजिक उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनालगत्तै प्रहरी टोलीले उनको उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। अस्पताल स्रोतका अनुसार शरीरका विभिन्न भाग जलेका छन् र अवस्था गम्भीर छ। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै थप अनुसन्धान भइरहेको जनाएको छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ भने घाइते युवकको उपचार जारी रहेको छ।






































