काठमाडौं। लामो समयदेखि वन क्षेत्रको स्वीकृतिका कारण रोकिएको ढल्केबर–हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणले अब गति लिने भएको छ। मन्त्रिपरिषद्ले वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएसँगै करिब १२ वर्षदेखिको अवरोध हटेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै मकवानपुरस्थित राष्ट्रिय वनको २।२ हेक्टर जग्गा प्रयोग गर्न र आवश्यक रुख हटाउन अनुमति दिइएको छ। यससँगै नेपाल विद्युत प्राधिकरणले रोकिएको प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाउने भएको छ।

ऊर्जा मन्त्रालयका अनुसार वन स्वीकृतिको अभावमा वर्षौंदेखि रोकिएको आयोजना अब डेढदेखि दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। निर्माण सकिएपछि देशको विद्युत प्रसारण प्रणाली थप मजबुत हुने, करिब ३ हजार मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने र आन्तरिक आपूर्तिसँगै विद्युत निर्यात पनि सहज हुने विश्वास गरिएको छ।

प्राधिकरणका अनुसार अब १६ वटा नयाँ टावर निर्माण गरिनेछ, जसले पूर्व–पश्चिम विद्युत प्रसारण सञ्जाललाई थप बलियो बनाउनेछ। 

सरकारको पछिल्लो निर्णयसँगै नेपालकै रणनीतिक महत्वको विद्युत प्रसारण आयोजना नयाँ चरणमा प्रवेश गरेको छ। यसले भविष्यमा ऊर्जा सुरक्षा र विद्युत व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।