काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार बिहान काठमाडौंस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। विभागले उनलाई आजै थप अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी गरेको स्रोतले जनाएको छ।
अनुसन्धान निकायका अनुसार पौडेलको सेयर कारोबार, आर्थिक गतिविधि तथा सम्पत्तिको स्रोतबारे छानबिन भइरहेको छ। यही अनुसन्धानको सिलसिलामा उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो।पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका पौडेललाई रातारात स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो। पक्राउअघि अनुसन्धान टोलीले ललितपुरस्थित उनको निवासमा समेत खानतलासी गरेको जनाएको छ।
पौडेल पक्राउ प्रकरणले राष्ट्रिय राजनीतिमा व्यापक चर्चा पाएको छ। एमालेले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ भने अनुसन्धान निकायले कानुनअनुसार नियमित प्रक्रिया अगाडि बढाइएको बताएको छ। अब अदालतबाट म्याद थप भएपछि पौडेलमाथिको अनुसन्धान थप गहिरिनेछ ।






































