बेइजिङ। भ्रमणमा रहेका परराष्ट्रमन्त्री तथा रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच महत्वपूर्ण भेटवार्ता भएको छ । भेटका क्रममा चीनले रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताउँदै राजनीतिक आदानप्रदान, रणनीतिक संवाद र शासन अनुभव साझेदारीलाई विस्तार गर्न प्रस्ताव गरेको छ ।
जवाफमा खनालले नेपाल र चीनबीच सात दशक लामो कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल पञ्चशीलको सिद्धान्त र एक चीन नीतिप्रति दृढ रहेको स्पष्ट पारे । उनले कुनै पनि चीनविरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता समेत दोहोर्याए ।
भेटमा रास्वपाले चीनसँग शिक्षा, विज्ञान–प्रविधि, जलस्रोत, पूर्वाधार र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य बढाउन चाहेको जनाएको छ । साथै चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रत्यक्ष अन्तरपार्टी सम्बन्ध स्थापना गर्न आफूहरू इच्छुक रहेको संकेत पनि दिएको छ । रास्वपाले सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा सीपीसीको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने धारणा राखेको छ ।




































