काठमाडौं। साढे तीन महिनादेखि जारी तनावपछि इरान र अमेरिका युद्धविरामतर्फ उन्मुख देखिए पनि मध्यपूर्वमा नयाँ राजनीतिक तरंग पैदा भएको छ। दुवै पक्षले आफूलाई विजेता घोषणा गरिरहेका बेला इजरायलले भने सम्झौताबाट दूरी कायम गर्दै युद्ध जारी राख्ने संकेत दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको समुद्री नाकाबन्दी हट्ने र विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुल्ने घोषणा गरेका छन्। यता इरानले भने अमेरिकालाई ‘आत्मसमर्पण गर्न बाध्य बनाएको’ दाबी गर्दै यसलाई आफ्नो रणनीतिक जितका रूपमा प्रस्तुत गरेको छ।
तेहरानमा शान्तिको आशा र अविश्वास दुवै देखिएको छ। केही नागरिक युद्ध अन्त्यको सम्भावनाले उत्साहित छन् भने कतिपयले अमेरिकामाथि अझै भरोसा गर्न नसकिने प्रतिक्रिया दिएका छन्। तर सबैभन्दा ठूलो झट्का इजरायलबाट आएको छ। इजरायली राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन ग्भिरले “ट्रम्पको सम्झौताले इजरायललाई बाँध्दैन” भन्दै हेज्बोल्लाहविरुद्धको सैन्य अभियान नरोकिने स्पष्ट पारेका छन्।
इजरायली अर्थमन्त्री बेजालेल स्मोट्रिचले त यो सम्झौता “इजरायल र स्वतन्त्र विश्वका लागि खराब” भएको टिप्पणी गर्दै इरानविरुद्धको दबाब जारी राख्ने संकेत दिएका छन्।
यसबीच कतारको मध्यस्थतामा दोहामा थप वार्ता हुने तयारी भइरहेको छ। तर इजरायलको असहमतिले लेबनान मोर्चामा युद्ध साँच्चै रोकिन्छ कि अर्को चरणमा प्रवेश गर्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।




































