बेइजिङ । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल अहिले रोजगारी सिर्जनाको ठूलो चुनौतीसँग जुधिरहेको बताएका छन्। प्रत्येक वर्ष श्रम बजारमा आउने लाखौं युवालाई देशभित्रै अवसर दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। नेपालको विकास र आर्थिक समृद्धिको अभियानमा प्रवासमा रहेका नेपालीको भूमिका निर्णायक हुने भन्दै परराष्ट्रमन्त्री शिशिर खनालले चीनमा रहेका नेपालीलाई मातृभूमिसँग जोडिन आह्वान गरेका छन्।
मन्त्री खनालले चीनमा अध्ययन, अनुसन्धान तथा व्यवसाय गरिरहेका नेपालीहरूलाई आफूले आर्जन गरेको आधुनिक प्रविधि, अनुभव र ज्ञान नेपालका लागि उपयोग गर्न आग्रह गरे। उनले नेपाल–चीनबीचको व्यापार, पर्यटन र प्रविधि हस्तान्तरणमा प्रवासी नेपालीले पुलको भूमिका खेल्न सक्ने बताए।
देश निर्माण सरकार वा केही व्यक्तिले मात्र सम्भव नहुने उल्लेख गर्दै खनालले नेपालभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास आवश्यक रहेको धारणा राखे। उनले डायस्पोराको लगानी र विज्ञता भित्र्याउन सरकार आवश्यक कानुनी तथा व्यवहारिक सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।





































