तेहरान । इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रम जुलाई ४ देखि सुरु गर्ने भएको छ। सोही दिन अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउँदैछ।
इरानी अधिकारीहरूका अनुसार श्रद्धाञ्जली कार्यक्रम तेहरानबाट सुरु हुनेछ भने जुलाई ९ मा उत्तरपूर्वी सहर मशहदमा शव दफनसँगै अन्तिम संस्कार सम्पन्न हुनेछ। कोममा पनि विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ।
विश्लेषकहरूले अमेरिकाको राष्ट्रिय दिवस रोजिनुलाई केवल संयोग नभई कूटनीतिक तथा राजनीतिक सन्देशको रूपमा व्याख्या गर्न थालेका छन्। खामेनी लामो समयसम्म अमेरिकाविरोधी धारका प्रमुख प्रतीक मानिन्थे।
३६ वर्षसम्म इरानको नेतृत्व गरेका खामेनीको मृत्युपछि मध्यपूर्वको शक्ति सन्तुलन र इरानको भावी राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको छ। अमेरिकासँगको तनावपूर्ण सम्बन्धकै बीच तय गरिएको अन्तिम संस्कारको मितिले अन्तर्राष्ट्रिय चासो झन् बढाएको छ।





































