काठमाडौं । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स एआई कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने सुझाव दिएका छन् ।
नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री एनआईसीसीआईले नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले कृत्रिम बुद्धिमत्ताले विश्वव्यापी रूपमा अर्थतन्त्र, उद्योग र शासनलाई द्रुत रूपमा आकार दिँदै गएकाले नेपालजस्ता उदीयमान अर्थतन्त्रले एआईको प्रयोगमा ध्यान दिनुपर्ने औंल्याए । उदीयमान अर्थतन्त्रहरूले सार्वभौम एआई क्षमताहरू निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।स्वदेशी एआई क्षमताहरू निर्माण गर्न दुई देशहरू बीच छलफल र सहयोग आदनप्रदान जरुरी रहेको पनि उनले बताए । उनले एआईका सम्भावनाहरू छलफल गर्न व्यवसाय, सरकार, शिक्षाविद् र प्रविधि क्षेत्रका व्यक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताए ।
स्टार्टअपहरू, एसएमईहरू, नीति निर्माताहरू, शिक्षाविद्हरू र लगानीकर्ताहरूलाई उत्पादकता, उद्यमशीलता र आर्थिक रूपान्तरणको लागि एआईबाट लाभ उठाउन सक्नेगरी योजनाहरु बनाउनुपर्नेमा उनको जोड थियो । उनले स्थानीय आवश्यकता र प्राथमिकताहरूलाई सम्बोधन गर्ने क्षमताहरूको विकास गर्दै विश्वव्यापी एआई परिदृश्यमा नेपालले कसरी रणनीतिक रूपमा आफूलाई तयार गर्ने भन्नेबारेपनि गम्भीर छलफल आवश्यक भएको बताए । नेपाली उद्यमी एवम आइटी क्षेत्रका व्यक्तिहरुसँग भएको अन्तरक्रियामा उनले नेपालमा डाटा सेन्टर सञ्चालन आफैंमा एक गहिरो प्राविधिक काम भएकाले सम्बन्धित निकायका व्यक्तिहरुलाई प्रारम्भिक चरणमा तालिम प्रदान गर्नुपर्ने बताए ।
सो अवसरमा एनआईसीसीआईका सुनील केसीले सहभागीहरूलाई स्वागत गर्दै नेपाल र भारत बीच प्रविधिबाट संचालित योजनाहरुमा सहयोग आवश्यक रहेको बताए । उनले सर्वम एआईलाई नेपालमा अवसरहरूको खोजी गर्न प्रोत्साहित गर्न, सहकार्य गर्न, नवप्रवर्तन नेतृत्वमा लगानी गर्न, ज्ञान हस्तान्तरण र बलियो प्रविधि साझेदारीलाई समर्थन गर्न सक्ने कुरामा जोड दिए । कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव वाणिज्य सुमन शेखर र नेपाल विश्वविद्यालयका कुलपति डा।बिन्दुनाथ लोहनीले पनि सम्बोधन गरेका थिए।
सो अवसरमा व्यवसाय, सरकार, शिक्षा, स्टार्टअप र प्रविधि क्षेत्रका नेताहरूलाई एआई सहकार्य, डिजिटल पूर्वाधार, प्रतिभा विकास र क्षेत्रीय नवप्रवर्तनमा विशेष जोड दिएको थियो ।





































