काठमाडौं । मध्यपूर्वमा युद्धको जोखिम बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो दाबीले नयाँ राजनीतिक मोड ल्याएको छ। ट्रम्पले इरानको नेतृत्व आणविक कार्यक्रमबारे नयाँ समझदारीतर्फ सकारात्मक बनेको दाबी गर्दै प्रस्तावित सैन्य कारबाही रोकिएको बताएका छन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले भविष्यमा आणविक हतियार नबनाउने मात्र होइन, त्यस्ता हतियार प्राप्त नगर्ने प्रतिबद्धतासमेत जनाएको दाबी गरे। यद्यपि, इरान सरकारले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

केही दिनअघि मात्रै इरानमाथि हवाई आक्रमण र रणनीतिक तेल केन्द्रमाथि कारबाहीको चेतावनी दिएका ट्रम्पले अहिले वार्ता सकारात्मक दिशातर्फ अघि बढेकाले सैन्य विकल्प स्थगित गरिएको बताएका हुन्। यसले अमेरिका–इरान सम्बन्धमा तत्कालका लागि तनाव कम भएको संकेत दिएको विश्लेषण गरिएको छ।

युद्धको सम्भावना कमजोर बन्दै गएपछि अन्तर्राष्ट्रिय तेल बजारमा पनि प्रभाव देखिएको छ। कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ। लगानीकर्ताहरूले मध्यपूर्वबाट तेल आपूर्ति अवरुद्ध हुने जोखिम घटेको मूल्यांकन गरेपछि ब्रेन्ट र डब्लुटीआई दुवै सूचकमा गिरावट देखिएको हो।

विश्लेषकहरूका अनुसार ट्रम्पको दाबी सत्य सावित भएमा यसले केवल अमेरिका–इरान सम्बन्ध मात्र होइन, विश्व ऊर्जा बजार र मध्यपूर्वको सुरक्षा अवस्थामै ठूलो प्रभाव पार्न सक्छ। तर इरानको आधिकारिक धारणा नआएसम्म सम्झौताबारे निश्चित निष्कर्ष निकाल्न भने हतार हुने देखिँदैन।