काठमाडौँ।  चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “महोत्सवमा पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयमा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको बढ्दो महत्वलाई झल्काईने छ । महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिनेछ ।”

महोत्सवकी निर्देशक निरौलाले समूहगत छलफल, मुख्य वक्तव्य, कविता वाचन, साङ्गीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रम आयोजना गरिने बताउनुभयो । महोत्सव यशस्वी प्रज्ञान प्रतिष्ठानको सहकार्यमा आयोजना हुन लागेको हो ।

यसपटकको संस्करणमा ‘गीत सुन्ने कि हेर्ने ?’, ‘नेपाली काव्य’, ‘समाज, सभ्यता र संस्कृति’, ‘रातो पृथ्वी र तातो पृथ्वी’, ‘नारी लेखनः समानता र स्वतन्त्रता’, ‘देशभन्दा टाढा र स्मृतिभन्दा नजिक’, ‘विद्धावारिणी आवश्यकता कि चुनौती’, ‘महोत्सवका चुनौतीहरु’, ‘नेपाल–भारत सिनेमा’लगायत दुइ दर्जन विषयमा समूहगत छलफल र अन्तरक्रियात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ । 

भारतस्थित ओडिशाको भुवनेश्वरमा आधारित ‘कलिङ साहित्य महोत्सव (केएलएफ)’ भारतको प्रमुख साहित्यिक तथा सांस्कृतिक महोत्सव मध्ये एक हो । सन् २०२२ देखि ‘केएलएफ’ ले नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक, सांस्कृतिक तथा बौद्धिक आदानप्रदानलाई केन्द्रमा राखी साहित्य महोत्सव आयोजना गर्दै आइरहेको छ ।