अभिनेता विराज भट्टले फिल्म एक्सनले भन्दा पनि कथा र भावनाले चल्ने बताएका छन् । फिल्ममा बलियो कथावस्तु, भावनाका साथै कलाकारको उत्कृष्ट अभिनय पनि आवश्यक रहेको उनको भनाइ छ ।
‘केवल मारधाड र एक्सनले मात्र फिल्म सफल हुँदैन,’ उनले भने, ‘हामी एक्सन फिल्म भन्ने बित्तिकै फाइटलाई मात्र बुझ्छौँ, तर फाइटले मात्र फिल्म चल्दैन।’ फिल्म ‘राम नाम सत्य’मा दर्शकले एक्सनका साथै बलियो सामाजिक र पारिवारिक संवेदना पाउने उनको भनाइ छ ।
बिहीबार फिल्म ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक कार्यक्रममा भट्टले फिल्म राम्रो बनेको दाबी गरेका छन् ।
कार्यक्रममा ‘एक्सन स्टार’को ट्याग नयाँ कलाकारहरूले पाइरहेको सन्दर्भमा भट्ट निकै उदार देखिएका थिए । अभिनेता सुशील श्रेष्ठलाई नयाँ पुस्ताको एक्सन स्टारका रूपमा हेरिएकोमा टिप्पणी गर्दै उनले भने, ‘यो ट्याग कसैले घरबाट लिएर आएको होइन, मेहनत गरेर कमाउने हो। हिजो हामी थियौँ, आज नयाँ पुस्ताका कलाकारहरू आएका छन् । नयाँले मान–सम्मान पाउनै पर्छ, यो स्वाभाविक प्रक्रिया हो।’
फिल्म माइकल चन्दले निर्देशन गरेका छन् । यो चन्दको निर्देशनमा डेब्यु फिल्म हो । म्युजिक भिडियो निर्देशनमा स्थापित चन्दले फिल्मका लागि विगत ५–६ वर्षदेखि तयारी गरिरहेको बताएका थिए । ‘धेरैलाई म्युजिक भिडियो निर्देशकले फिल्म कस्तो बनाउला भन्ने जिज्ञासा थियो, आज ट्रेलरले त्यसको केही उत्तर दिएको छ जस्तो लाग्छ,’ चन्दले भने । उनले फिल्ममा महिला संवेदना र सशक्त पात्रहरूलाई पनि विशेष स्थान दिइएको स्पष्ट पारे ।
फिल्ममा भट्टका अलावा सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, सुधीर श्रेष्ठ, दिव्या रायमाझी, खुसी कार्की र स्वर्गीय कलाकार सुनिल थापाको पनि मुख्य अभिनय रहेको छ । कार्यक्रममा दिव्या रायमाझीले आफ्नो भूमिका चुनौतीपूर्ण रहेको र भट्टजस्ता अनुभवी कलाकारसँग काम गर्दा धेरै कुरा सिक्न पाएको बताइन् ।
अभिनेता सुशील श्रेष्ठले भट्टलाई ‘एक्सन किङ’को संज्ञा दिँदै उनीसँग पर्दा बाँड्न पाउनु आफ्नो लागि अहोभाग्य भएको बताए ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने फिल्ममा क्रिएटिभ निर्माता मोती कार्की रहेका छन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नव अन्सारीको संगीत छ ।
फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको सार्वजनिक ट्रेलर पूरै एक्सनले भरिएको छ ।






































