काठमाडौं । निर्माण कम्पनी 'मुनलाइट मोसन पिक्चर्स'ले आफ्नो आगामी प्रोजेक्टलाई लिएर सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारहरू अपुष्ट र भ्रामक रहेको बताएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले चलचित्रको शीर्षक, निर्देशक र कलाकारहरूको विषयमा बाहिर आएका हल्लाहरूमा कुनै सत्यता नरहेको र ती नितान्त अड्कलबाजीमा मात्र आधारित रहेको स्पष्ट पारेको हो ।
विज्ञप्तिमार्फत कम्पनीले नयाँ प्रोजेक्टका लागि कलाकारहरूको छनोट (अडिसन) प्रक्रिया हालसम्म पनि जारी नै रहेको जानकारी दिएको छ । कुनै पनि कलाकार वा प्राविधिकहरूको आधिकारिक टुंगो नलागिसकेको अवस्थामा बजारमा चर्चा गरिएका नामहरू र प्रोजेक्टका विवरणहरूबाट भ्रमित नहुन सम्पूर्ण दर्शक तथा सञ्चारकर्मीहरूलाई अनुरोध गरिएको छ । तथ्य नबुझी गरिने समाचार प्रवाहले निर्माण प्रक्रिया र समग्र उद्योगको व्यावसायिकतामा नै आघात पुर्याउने भन्दै कम्पनीले त्यस्ता हल्लाप्रति सचेत रहन आग्रह गरेको छ ।
यसका साथै, मुनलाइट मोसन पिक्चर्सले छिट्टै नै एउटा विशेष समारोह (ग्रान्ड इभेन्ट) आयोजना गरी चलचित्रको शीर्षक, मुख्य भूमिकामा रहने कलाकार र निर्माण टोलीको बारेमा आधिकारिक रूपमा जानकारी सार्वजनिक गर्ने घोषणा समेत गरेको छ । तथ्यपूर्ण समाचार र व्यावसायिक पत्रकारिताले मात्र नेपाली सिनेमालाई विश्वस्तरमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै कम्पनीले आगामी दिनमा सञ्चारमाध्यम र दर्शकहरूबाट सकारात्मक सहयोगको अपेक्षा राखेको छ ।






































