काठमाण्डौ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तर पुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ।
यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन्। परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ। यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी हुनेछन्। जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्। परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र सम्बन्धित केन्द्रमा पठाइसकिएको छ। परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ।
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ। यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ।
यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि सामूहिक अनुगमनमा रोक लगाइएको हो। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।






































