लन्डन । संयुक्त अधिराज्य (यूके) सरकारले २१ फागुनमा सम्पन्न आमनिर्वाचनमा झण्डै दुईतिहाइ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसंग काम गर्न उत्सुक रहेको बताएको छ ।
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र इण्डो प्यासिफिक मामिला हेर्ने बेलायतीमन्त्री सीमा मल्होत्राबीच बुधबार भएको शिष्टाचार भेटमा मल्होत्राले सो धारणा राखेकी हुन् ।
बेलायती विदेश मन्त्रालय (एफसिडिओ) मा भएको उक्त भेट बेलायत नेपाल द्विपक्षीय मुद्दा र साझा हितहरूका विषयमा केन्द्रित रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
करिब एक घण्टा लामो उक्त भेटघाटमा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, व्यापार, लगानी, जलवायू परिवर्तन, सामाजिक आर्थिक विकास आदि मुद्दामा बेलायती सहयोग र प्राथमिकताबारे कुराकानी भएको कार्यवाहक राजदूत दुवाडीले बताए ।
‘बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा बन्ने सरकारसँग काम गर्न उत्साहित छ,’ कार्यवाहक राजदूत दुवाडीले भने, ‘संसदमा सबैभन्दा ठूलो दलका रूपमा उदाएको रास्वपाका प्राथमिकतासँग कसरी काम गर्ने भन्नेबारे बेलायतको चासो छ ।’
नेपाललाई सहयोग गर्ने विषयमा बेलायत सकारात्मक रहेको समेत उनले बताए ।
भेटघाटमा भूतपूर्व गोर्खाका विषयमा समेत कुरा उठेको जनाउँदै दुवाडीले आफूले गोर्खा मुद्दामा पहल गरिदिन मन्त्री मल्होत्रालाई अनुरोध गरको बताए ।
सो भेटबाट नेपाल र बेलायतबीचको ऐतिहासिक एवं शताब्दीऔं लामो सम्बन्ध अझ सुदृढ बनाउने विश्वास दूतावासले गरेको छ ।
यसअघि इण्डो प्यासिफिक मन्त्री मल्होत्राले गत ६ मार्चमा ट्वीट गर्दै बेलायतले नेपालको हालै सम्पन्न शान्तिपूर्ण संसदीय निर्वाचनको स्वागत गर्ने जनाएकी थिइन् ।
‘हाम्रो आधुनिक साझेदारी २०० वर्षभन्दा बढीको मित्रता र हाम्रा जनताबीचको बलियो सम्बन्धमा आधारित छ,’ उनले लेखेकी थिइन्, ‘हामी यी सम्बन्धहरूलाई सुदृढ पार्न र नेपालको भावी सरकारसँग काम गर्न तत्पर छौं ।’
निर्वाचनपछि काठमाडौंस्थित बेलायती दूतावासले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको थियो ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई ज्ञापन गर्दछ ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘हामी हाम्रो अर्को १०० वर्षको मित्रता बनाउन नयाँ सरकार गठन भएपछि मिलेर काम गर्न तत्पर छौं ।’
बेलायत नेपालको प्रमुख विकास साझेदार हो । नेपाल र बेलायतको औपचारिक सम्बन्ध सन् १८१६ मा सुरु भएको थियो । त्यसबेलादेखि दुई देशबीचको सम्बन्ध परम्परागत मित्रता, सौहार्द र सहयोगबाट परिपूर्ण छ ।
ब्रिटिश गोर्खाहरूका कारण बेलायत नेपाल सम्बन्ध अझ प्रगाढ बनेको विश्वास गरिन्छ ।






































