यहि माघ १६ गतेबाट प्रदर्शनमा अएको चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनको आज छैठौं दिन देशभरीका सिनेमाघरमा हाउसफुलमय ब्यापार गरिरहेको छ। चलचित्रले हलसम्म मात्र होइन, दर्शकको सम्म मात्र होइन, दर्शकको मनको सबैभन्दा संवेदनशील कुनासम्म यात्रा गरेको छ। चलचित्र हेरेर धेरै दर्शक भावुक बनेको, रुन पुगेको तथा पुराना पीडासमेत बल्झिएको प्रतिक्रिया आएपछि निर्देशक चन्द्र पन्तले दर्शकप्रति आधिकारिक माफी तथा धन्यवाद व्यक्त गरेका छन्।
आमा–सन्तानबीचको सम्बन्धलाई यथार्थ र गहिरो संवेदनासहित प्रस्तुत गरिएको यो चलचित्रले कतिपय दर्शकलाई अत्यन्त भावनात्मक बनाएको उल्लेख गर्दै निर्देशक पन्तले सार्वजनिक सन्देशमार्फत भनेका छन् । चलचित्र हेरेर दर्शक धेरै रुनु, भक्कानिनु र जीवनका पुराना पीडा सम्झिनु हाम्रो उद्देश्य थिएन। तर जब फिल्मको कथा आफ्नै जीवनसँग जोडिन्छ, मन थाम्न गाह्रो हुने रहेछ।
पन्त लेख्छन् कतिपय दर्शकहरू फिल्म हेर्दै बेहोस हुने अवस्था आएको, कोही बिरामी पर्नुका साथै धेरै दर्शक मानसिक रूपमा गहिरो रूपमा छोइएको जानकारी प्राप्त भएको भन्दै फिल्म टिमले त्यसबाट उत्पन्न दुःख र कष्टप्रति क्षमायाचना गरेको छ।
साथै, चलचित्र हेरेर भावनामा डुबेका प्रत्येक दर्शकप्रति कृतज्ञता व्यक्त गर्दै निर्देशक पन्त र निर्माण पक्षले दर्शकको आँसु नै चलचित्रको सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्।
मातृत्व, त्याग र प्रेमको शक्तिशाली कथा बोकेको ‘आ बाट आमा’ ले प्रदर्शनसँगै दर्शकको मन जितिरहेको छ भने हलहरू भावुक दृश्यले भरिएको देखिन्छ।
यही बीच, चलचित्रका प्रमुख कलाकार तथा बलिउड अभिनेता प्रदीप रावत नेपालमा चलचित्र रिलिज पछिको प्रचार कार्यक्रम सम्पन्न गरी भारत प्रस्थान गरेका छन्। नेपाली चलचित्रप्रति आफ्नो आत्मीयता व्यक्त गर्दै रावतले ‘आ बाट आमा’ आफूलाई भावनात्मक रूपमा निकै नजिक लागेको चलचित्र भएको बताए।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।





































