लोकप्रिय भारतीय स्ट्यान्ड-अप कमेडियन जाकिर खानले स्टेज शोबाट लामो ब्रेक लिने घोषणा गरेका छन्। हाल आफ्नो विशेष शो 'पापा यार' को सिलसिलामा विभिन्न सहरको भ्रमणमा रहेका जाकिरले हैदरावादको शोका क्रममा दर्शकमाझ भावुक हुँदै अब आफू लामो समय स्टेजमा नदेखिने बताएका हुन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा जाकिरले हैदरावादको यो शो नै आफ्नो अन्तिम प्रस्तुति हुने सङ्केत गरेका छन्। उनले आफ्नो स्वास्थ्य र व्यक्तिगत कारणले यो निर्णय लिएको स्पष्ट पार्दै सन् २०२८, २०२९ वा २०३० तिर मात्रै स्टेजमा पुनरागमन गर्न सक्ने बताए। दर्शकप्रति आभार प्रकट गर्दै उनले आफूले पाएको अथाह मायाका लागि सधैँ ऋणी रहने बताएका छन्।
जाकिरले इन्स्टाग्राममार्फत पनि आगामी जुन २० सम्मका प्रत्येक शोहरू आफ्नो लागि उत्सव जस्तै हुने र यसपटक धेरै सहरमा पुग्न नसक्ने जानकारी दिएका छन्। उनले आफ्ना फ्यानहरूलाई केही कष्ट गरेर भए पनि आफू पुगेका सीमित सहरका शोहरूमा आइदिन आग्रह गरेका छन्।
स्वास्थ्य अवस्थाका बारेमा चर्चा गर्दै जाकिरले विगत एक वर्षदेखि आफू शारीरिक रूपमा ठिक नभएको खुलासा गरेका छन्। पछिल्लो १० वर्षदेखि निरन्तर भ्रमण, दिनमा दुई-तीनवटा शो, अनिद्रा र खानपानको अनिश्चितताका कारण आफ्नो शरीर कमजोर भएको उनले स्वीकार गरे।
सबैलाई खुसी बनाउने प्रयासमा आफ्नो स्वास्थ्यलाई बेवास्ता गरेको महसुस भएपछि चिकित्सकको सल्लाह बमोजिम उनले यो कठिन निर्णय लिएका हुन्। अब यो विशेष भ्रमणको रेकर्डिङ सकिएपछि उनी पूर्ण रूपमा विश्राममा जानेछन्।






































