काठमाडौँ। प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ ।

 उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गर्नुभएको थियो ।  ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो । समालोचक प्रा केशव सुवेदीले उक्त ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्ने बताउनुभयो । 

समारोहमा लेखक श्रेष्ठले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको र यो प्रयोगात्मक अध्ययनको नमूना रहेको बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा दयाराम श्रेष्ठले नेपाली कथा साहित्यका विद्यावारिधि गर्नुभएको छ । उहाँले छत्तीस वर्ष प्राध्यापन पेसा गर्नुभएको थियो । उहाँका ३० वटा कृति प्रकाशित छन् ।