चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो ।
‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ ।
सपना साकार हुन नपाउँदै भत्किएको संसार गीतमा सुन्न सकिन्छ । वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा समेटेको गीतमा सपना भताभुंगा हुँदाको पीडा र छटपटि सुन्न सकिन्छ ।
हराएको प्रेमीको खोजी र पर्खाइमा रहेको रहेको व्यक्ति कसरी पलपलमा टुक्रिन्छ ? चोखो प्रेमको गहिराइमा रहने र त्यसको महत्व नबुझ्नेबीचको अन्तरको मर्मस्पर्शी कथा गीतले बोकको छ ।
गीतको यो कथा देखाउन भिडियोमा आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ छन् । वियोगान्त गीतले चलचित्रको कथा संकेत गरेको छ । प्रेमलाई पूजा गर्ने र खेलवाड सम्झनेबीचको अन्तर चलचित्रमा रहेको गीतबाट अनुमान लगाउन सकिन्छ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानको निर्देशन गरेका छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीले गरेको छायांकन रहेको चलचित्रका आकाश उखेडा मख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।






































