एक हातमा ‘ब्रस’ र अर्को हात ‘नाइफ’सँगै सेतो क्यान्भासमा रङ्ग पोतिरहेका थिए, पाका पुस्ताका कलाकार किरण मानन्धर ।

आफ्नै धुनमा क्यानभास रङ्ग्याउनमा व्यस्त देखिनुएका किरणको कला देखेर नेपाल–जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष सन्तोषचन्द्र कुँवर र कलाकार अनिता भट्टराईले कला र व्यवसायको अन्तर–सम्बन्ध जोड्ने योजना बुन्दै थिए । भट्टराईले भने, “किरण दाइको चित्र व्यवसायीहरुलाई कसरी बुझाउने होला भनेर सोच्दै छु ।”

उनको मुख्य चासो नै कलाकारको मेहनत व्यवसायीले महसुुस गरिदिनुपर्नेमा केन्द्रित थियो । किरणकै काम नियाली रहेका कमर्सका अध्यक्ष कुँवरले भट्टराईको मनसाय बुझेर भने, “कला र व्यवसायलाई एकै साथ अघि बढाउनुपर्छ भन्नेमा म पनि सहमत छु ।”

काठमाडौंमा आज आयोजित नेपाल–जर्मन चेम्बर अफ कर्मस एन्ड इन्ड्रस्टीको ३० र ३१ औँ वार्षिक साधारणसभामा व्यवसाय र कलाकारबीचको सहकार्य यसरी झल्किएको थियो । जसलाई कलाकारसमेत रहेकी अनिता भट्टराईले कला संयोजन गरेकी थिइन् ।

लाजिम्पाटस्थित होटल (याडिसनमा भएको कार्यक्रममा पाका र युवाहरु गरी १३ जना कलाकारले स्थलगत चित्रकला (लाइभ पेन्टिङ) कार्यशाला गरेका थिए । भट्टराईका अनुसार कलाकारको महत्वलाई प्रोत्साहन गर्न व्यवसायीको ठूलो सहकार्य आवश्यक हुने गर्छ । उनी पछिल्लो केही वर्षदेखि अन्तरराष्ट्रिय र राष्ट्रियस्तरमा नेपाली कलाकारको कला व्यवसायलाई विस्तार गर्न प्रयत्नशील हुन् । उनको विचारमा कला सङ्कलक र कला पारखीबीच अन्तर छ । “हामी कहाँ आर्ट कलेक्टर त भए तर, आर्ट लभर निकै कम छन्”, उनले भने, “म यहाँ कलाकारको कलालाई माया गर्न व्यवसायिहरुलाई बुझाउने प्रयत्नमा छु ।”

कमर्सका अध्यक्ष कुँवरले भट्टराईको कलालाई व्यवसायमा जोड्ने अभियानलाई सकारात्मक रुपमा लिएको बताए । त्यसैले पहिलोपटक कमर्सको साधारणसभामा कलाकारलाई बोलाएर कार्याशाला गर्नुका साथै उहाँहरुको कलाकृति बिक्री गराउने माहोल समेत जुटाउन लागिएको बताए ।

ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहनुभएका कलाकार किरणले अमुर्त आकृति क्यानभासमा उतारेका थिए । यसरी प्रत्यक्ष चित्र कोर्न पाँउदा दर्शकले कलाकारको रंग र क्यानसभासको प्रक्रिया नियाल्ने मौका पाउने उनले सुनाए । “कलाकारले कसरी चित्र बनाउँछ भनेर पुरै प्रक्रिया हेर्नु दर्शकका लागि रमाइलै कुरा हो नि”, उनले भने, “विदेशमा स्थलगत चित्र कोर्ने संस्कृति हामी कहाँभन्दा धेरै छ । यसले कलाकारको मुल्य सर्वसाधारणलाई बुझ्न र बुझाउन निकै भूमिका खेलेको हुन्छ ।”

व्यवसायी राजीव मङ्गल जोशीले देशको कलाकार र कलाकृतिको संरक्षण गर्ने दायित्व व्यवसायीहरुको पनि रहेको बताए । चेम्बरका महासचिव एलेक्स लाल मोक्तानले आगामी दिनमा पनि चेम्बरबाट हुने अन्य गतिविधिमा कलाको सहभागिता जोड्दै जाने योजना रहेको सुनाए ।

स्थलगत चित्र कार्यशालामा किरणसँगै चित्रकार चिराग वाङ्देल, डिबी राई, सागर मानन्धर, प्रभात श्रेष्ठ, विभूषण ताम्राकार, ओम गुरुङ, विकुकुमार थापा, मन गुरुङ, मङ्गल प्रजापति, सुवास खड्का, श्याम फुयाल, युगदास मानन्धरलगायतका कलाकारले क्यानभास रङ्ग्याएका थिए ।