'नेपाल ग्रामीण चलचित्र महोत्सव'को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ । आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले आइतबार एक बिज्ञप्ती जारी गर्दै महोत्सवको जानकारी दिएको हो ।

महोत्सवका लागि आयोजकले नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान समेत गरेको छ । महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्नेछन् । प्राप्त फिल्महरूमध्ये निर्णायक मण्डलबाट छनोट भएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ भने उत्कृष्ट फिल्महरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठी आयोजक रघुनाथ सापकोटाले बताए । ‘महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ । यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्छ भन्ने हाम्रो विश्वास छ ’ सापकोटाले थपे ।

यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र सुवामा सम्पन्न भइसकेको छ । यसपटकको महोत्सव आयोजना हुने स्थान भने तय हुन बाँकी रहेको महोत्सव संयोजक कमल एक्चै मगरले जानकारी दिए । महोत्सव चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो ।