काठमाडौं— कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपालीलाई मानवीय आधारमा आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा आममाफी प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गरिएको छ। मन्त्रालयले यस कदमलाई उच्च प्रशंसा गरेको छ।

विज्ञप्तिमा नेपाल र कतार राज्यबीचको सुदृढ द्विपक्षीय सम्बन्ध, आपसी मित्रता र सौहार्दताको प्रतीकका रूपमा उक्त आममाफीलाई लिइएको उल्लेख छ। मानवीय आधारमा प्रदान गरिएको दयालु निर्णयले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।