भाइरल बन्नका लागि मानिसले के–के गर्न सक्छ भन्ने कथावस्तुमा निर्माण भएका फिल्म हो ‘भाइरल गोर्खे’ । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरले सौगात मल्ल मार्फत सामाजिक सञ्जालमा भाइरल बन्न गर्ने क्रियाकलाप देखाएको छ ।

फिल्ममा सौगातको अलावा अभिनेत्री सृष्टि श्रेष्ठको पनि मुख्य भूमिका छ । प्रेममा ब्रेकअफ भएपनि यी दुबै कलाकार फिल्ममा भने एकसाथ देखिँदै आएका छन् ।

फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठले समसामयिक र घरघरको विषय भएकाले फिल्म दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिको अलावा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पविको अभिनय छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्म लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।