अभिनेता रणवीर सिंहको मल्टिस्टारर फिल्म ‘धुरन्धर’ आज शुक्रबारबाट प्रदर्शनमा आयो । ट्रेलर सार्वजनिक भएपछि फ्यानहरूमा प्रतीक्षित बनेको यो फिल्म हेर्ने दर्शकले फिल्मको विषयमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

धेरैजसो दर्शकले ‘धुरन्धर’लाई देशभक्तिले ओतप्रोत भएको एक जबरदस्त फिल्म बताएका छन् । कतिले रणवीर सिंहको अभिनयको खुलेर तारिफ गरेका छन् । एक सामाजिक प्रयोगकर्ताका अनुसार फिल्मका एक्सन दृश्यहरू, विशेष गरी युद्ध र रेस्क्यु (उद्धार)का दृश्यहरू निकै वास्तविक र उत्कृष्ट ढंगले बनाइएको छ ।

फिल्म हेर्दाहेर्दै एक दर्शकले यसलाई ‘ज्वालामुखी’को संज्ञा दिएका छन् । रणवीरका साथै अक्षय खन्नाको अभिनयले पनि दर्शकको मन जितेको छ । फिल्मको ‘इन्टरभल सिन’को पनि विशेष प्रशंसा गरिएको छ ।

केही दर्शकले फिल्मको तारिफ गरिरहँदा, कतिपयले भने फिल्मको लम्बाइलाई लिएर असन्तुष्टि जनाएका छन् । एक सामाजिक प्रयोगकर्ता लेख्छन्, ‘रणवीर र अन्य कलाकारहरूको काम राम्रो छ, तर फिल्म यति पट्यारलाग्दो र लामो छ कि हलमै दिक्क लाग्छ । हरेक १५ मिनेट पनि एक घण्टा जस्तो महसुस भयो ।’

अर्का एक दर्शकले फिल्मलाई ‘बोझिलो’ बताउँदै लेखेका छन्, ‘फिल्म सुरु भएको १ घण्टा २० मिनेट भइसक्यो तर अलिकति पनि राम्रो लागेको छैन । एउटा घटनाबाट अर्को घटनामा फिल्म बिना कुनै ‘फ्लो’ अघि बढिरहन्छ । एक समयपछि स्क्रिनमा के भइरहेको छ भन्ने कुराले दर्शकलाई मतलब नै हुँदैन।’

आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ। फिल्ममा रणवीर सिंहका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।