पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् ।
तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै देखिन्छ । यसले उनका जिन्दगीप्रति आशा रहेको देखाउँछ ।
सिनेमामा क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिगरेट छ । रेलिङमा उनी अडेस लागेकी छन् । जहाँ उनी तनावमा छिन् । हातका पाँचवटै औलामा औंठी छ । एउटै औँलामा दुईटा औंठी पनि देख्न सकिन्छ ।
अर्को एक ठाउँमा पनि छिन्, बेनिशा । यहाँ उनी महेश त्रिपाठीसँग टेबुलमा छिन् । आमनेसामने रहेकाले यहाँ यी दुईबीच केही संवाद भइरहेको अनुमान लगाउन सकिन्छ ।
ग्रिस्मा कटुवाललाई पनि पोस्टरमा देखिन्छ । उनी आँखाभरि आँसु बनाएर रोइरहेकी छन् ।
पोस्टरमा निलो लाइट छ, यो कलरले चलचित्रको नामको टोन दिने प्रयास गरेको छ । पोस्टरले आशा र निराशाबीचको कथा अथवा उताचढावपूर्ण जिन्दगीको कथा सिनेमाले भन्ने संकेत गरेको छ ।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शन हुँदै छ । उनको यो डेब्यु निर्देशन हो ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।
आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।






































