विजय केरुङको निर्देशन रहेको फिल्म ‘परिवर्तन’काे क्यारेक्टर पाेस्टर सार्वजनिक गरिएको छ । दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको बुधबार सार्वजनिक दोस्रो चरणको पोस्टरमा सात मुख्य कलाकारहरू आ-आफ्नो पात्र लुक्समा प्रस्तुत छन् ।

अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गर्दै पोस्टरमा घाइते अवस्थामा रहेका सुशील दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ । अभिनेत्री अञ्जना बराइली इन्स्पेक्टरको भूमिकामा छिन् । उनको नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्काउँछ । सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि पोस्टरमा उतारिएको छ।

फिल्मका निर्माता दीपक सिवाकोटी हुन् । उनी स्वयंको कथा रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको डिओपी, बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । ‘परिवर्तन’ आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।