चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो ।

चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । करिब डेढ महिनाको सेडुयुल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए ।

चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् ।

यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । कथा पनि उनी स्वयंको रहेको छ ।

चलचित्र ‘रोल नंं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए ।

सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फर्स्ट नै विद्वान हो अरु मुर्ख हुन् भन्ने कथा यो उठाउनेछ ।

यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए । अगाडि कालोपाटी थियो । नजिकै एक शिक्षिका थिइन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन् ।

शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको चिफ एडी फिरोड खड्का छन् । प्रोडक्सन डिजाइनरमा कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी छन् । मदन घिमिरेको सम्पादन रहनेछ ।

निर्माता पौडेलको निर्माण रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।