मङ्गलवार सामाजिक सञ्जालमा केही रोमान्टिक तस्बिरहरू सार्वजनिक गर्दै नेपाली सिनेमाकी चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाहले चाँडै विवाह बन्धनमा बाँधिन लागेको खबर सार्वजनिक गरेकी थिइन्।
मङ्सिर १ गते उनले आफ्ना प्रेमीसँग गोप्य रूपमा इन्गेजमेन्ट गरेकी थिइन्। साम्राज्ञीले इन्स्टाग्राममार्फत रोमान्टिक तस्बिरहरू सार्वजनिक गर्दै नयाँ जीवनको सुरुवात भएको जानकारी दिएकी थिइन्। पोस्टमा उनले प्रेमीको अनुहार भने लुकाएकी थिइन्, जसले धेरैलाई उत्सुक बनाएको थियो। तर अब उनीसँग इन्गेज भएको व्यक्ति को हुन् भन्ने विषय सार्वजनिक भएको छ।
उनका हुनेवाला पति मोडल तथा अभिनेता विशाल खरेल हुन्। ५ वर्षअघि रिलिज भएको कथानक चलचित्र ‘प्रेम दिवस’ मा अभिनय गर्दै विशाल चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि उनी परिवारसहित अमेरिका गएको र त्यहीँ व्यवसाय गर्दै आएको बताइन्छ। गत एक वर्षमा साम्राज्ञी र विशालले सँगै अभिनय गरेका दुई म्युजिक भिडियो ‘हारेँ हारेँ’ र ‘मालती’ले उनीहरूलाई नजिक ल्याएको थियो।






































