नेपाली चलचित्रकी चर्चित तथा बोल्ड अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह प्रेमीको मायाजालमा पूरै बाँधिएकी छिन्। उनले हिजोआज मात्र आफ्ना प्रेमीसँग गोप्य तर अत्यन्त रोमान्टिक इन्गेजमेन्ट गरेकी छन्।

सोमबार ९मङ्सिर १ गते भएको इन्गेजमेन्टको खबर उनले मङ्गलबार आफ्नो ३०औँ जन्मदिनको ठिक अघिल्लो रात इन्स्टाग्राममार्फत सार्वजनिक गरिन्। उनले सेयर गरेका तस्बिरहरूमा दुवै जना एकअर्काको अँगालोमा बाँधिएका र औँठी आदानप्रदान गरेका दृश्यहरू छन्। तर चाखलाग्दो कुरा, सबै तस्बिरमा प्रेमीको अनुहार लुकाइएको छ। क्यामेराको कोण यस्तो मिलाइएको छ कि उनको मुहार स्पष्ट देखिँदैन।

इन्स्टाग्राम क्याप्सनमा साम्राज्ञीले भावुक हुँदै लेखेकीछन्।

“जसका लागि मैले वर्षौँदेखि प्रार्थना गरेकी थिएँ। मेरो भाषा बोल्न सक्ने शान्त आत्मा। तिमीलाई मैले पाएकोमा म शब्दहरूभन्दा बढी आभारी छु। तिम्रा आँखामा हेर्दा जादु हुन्छ, मौन कुराकानीले सबै कुरा भन्छ। यो हात कहिल्यै नछोड्ने बाचा गरेँ।”

स्रोतका अनुसार यो जोडी यसै वर्षभित्र वैवाहिक बन्धनमा बाँधिने तयारीमा छ। विवाहको मिति र स्थान भने गोप्य राखिएको छ।

पोस्ट सार्वजनिक हुनासाथ नेपाली चलचित्र क्षेत्रका स्टारहरूले बधाईको ओइरो लगाएका छन्। प्रियङ्का कार्की जोशी, श्वेता खड्का, नम्रता श्रेष्ठ, सन्ध्या केसी, केकी अधिकारी, ओसिन सिटौला, नम्रता सापकोटा लगायतले कमेन्टमा “बधाई छ दिदी”, “जोडीलाई जीवनभरि सुखी राख्नु” जस्ता शुभकामना लेखेका छन्।