गीतकार प्रकाश सुवेदीको नयाँ गीत ‘नआइदे याद’ हालै सृजना र सेरोफेरो युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। बिछोड र स्मृतिको गहिरो भावमा आधारित यस गीतमा राजकुमार बगरले सङ्गीत र साहस शाक्यले सङ्गीतसंयोजन गरेका छन्। अन्नु चौधरीको स्वरमा प्रस्तुत गीतलाई निर्देशक तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’ ले म्युजिक भिडियोमार्फत दृश्य अभिव्यक्ति दिएका छन् भने सिनेमाटोग्राफी अजय रेग्मीले सम्हालेका छन्।

भिडियोमा ‘सीता’ टेलिश्रृङ्खलाबाट चर्चित नायिका समिया कार्की, कलाकार सुधिर श्रेष्ठ र दीपेन्द्रराज गिरी मुख्य भूमिकामा छन्। साथमा देवी पराजुली, टिकाराम पाण्डे, सरीता मगर, जयराम क्षेत्री र जेनिशा धनुके पनि देखिएका छन्। गीतमा प्रयोग भएका अंग्रेजी सबटाइटल साहित्यकार तथा समालोचक महेश पौड्यालले तयार पारेका छन्, जसले यसलाई अन्तर्राष्ट्रिय दर्शकतर्फ केन्द्रित गरेको छ। `सृजना र सेरोफेरो´  युट्युव च्यानलबाट १ हप्ता अगाडि सार्वजनिक भएको म्युजिक भिडियोलाई यो समाचार तयार पार्दासम्म लगभग ४,५०,००० दर्शकले हेरिसकेका छन् भने ५० हजार भन्दा बढि सङ्ख्यामा टिकटक बनाईसकेका छन्। 

‘नआइदे याद’ गीतको अन्तर्भाव

वियोग, स्मृति र आत्मसंघर्षको विषयवस्तु बोकेको ‘नआइदे याद’ प्रेम विछोडमा सीमित नभई मानव सम्बन्ध र मनोवैज्ञानिक पीडासँग जोडिने भावनात्मक कृति बनेको छ। “नआइदे याद, नआइदे वर्षात व्यर्थैमा भिजाउन” जस्ता हरफहरूले स्मृतिबाट मुक्त हुन खोज्ने मनको मौन प्रार्थना प्रस्तुत गर्छन्। गीत, दृश्य र अभिनयको संयोजनले यसलाई आधुनिक नेपाली संगीतमा भावनात्मक सन्देशसहितको प्रभावकारी सिर्जनाको रूपमा स्थापित गर्ने संकेत देखिएको छ।

यो गीत मनले चाहे पनि बिर्सिन नसकिएको स्मृति, पीडा र भावनात्मक द्वन्द्वको कथा हो, जहाँ सर्जकले बिछोडपछिको अन्तर्मनको चोटलाई शान्त र परिपक्व ढङ्गले अभिव्यक्त गरेका छन्। बाहिरबाट सबथोक सामान्य र नियंत्रित देखिए पनि भित्रमनमा रोइरहेको पीडा, अधूरा अपेक्षा र असफल आशाहरूले चरित्रलाई सताइरहेको स्थिति गीतभरि महसुस हुन्छ। स्मृतिलाई रोक्न खोज्दा पनि मन भिजाइरहने परिस्थिति,  भित्रभित्र भित्रै बगिरहने आँसु, र सपनासम्मलाई सहन नसक्ने मानसिक अवस्था यस गीतको भावनात्मक केन्द्रबिन्दु बनेको छ। अन्त्यमा बिर्सन सक्ने उपाय, ‘ओखती’ खोजिने चाहना मार्फत गीतले वियोगलाई करुणाको अधरमा नराखी आत्ममुक्ति, आत्मसंयम र मानसिक उपचारतर्फ अगाडि बढ्ने आन्तरिक यात्रा प्रस्तुत गर्छ।