निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको प्रेम–कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिबार औपचारिक रूपमा समाप्त भएको निर्माण टिमले जनाएको छ।
छायाङ्कन सकिएसँगै चलचित्रको रिलिज मिति अब केही दिनमै सार्वजनिक गरिने निर्देशक राउतले जानकारी दिए। उनका अनुसार पोस्ट–प्रोडक्सनको प्रगतिलाई हेरेर अन्तिम मिति तय गर्ने तयारी भइरहेको छ। छायाङ्कनको बीचमै नै ‘कुमारी’ चर्चामा आएको थियो। सार्वजनिक समारोहमा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेपछि चलचित्र प्रति दर्शकको चासो बढेको हो।
देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंह तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले प्रस्तुत गरेको लाइभ भर्सन टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ। ‘जेन(जी’ पुस्ताका प्रयोगकर्ताले सर्वाधिक प्रयोग गरिरहेको यो गीतको स्टुडियो भर्सन भने चलचित्र रिलिजसँगै मात्र सार्वजनिक गरिने बताइएको छ।
चलचित्रमा अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकाबाट डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार पनि अभिनय गर्नेछन्।‘कुमारी’को छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। चलचित्र बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले तयार पारेको हो।
चलचित्रमा चार गीत समावेश छन्, जसमा सबैमा गायक लिम्बुले नै स्वर दिएका छन्। संगीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले संयुक्त रूपमा तयार पारेका हुन्। शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। निर्माण टिमका अनुसार चलचित्र यही वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। छायाङ्कन सकिएसँगै ‘कुमारी’ अब पूर्णरूपमा पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गरेको छ।





































