प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तय भएपछि नयाँ राजनीतिक दल गठनको प्रक्रिया तीव्र बनेको छ। निर्वाचन आयोगमा दिनहुँ नयाँ दल दर्ताका निवेदन परिरहेका छन् भने खुलिरहेका दलमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पनि आबद्ध हुन थालेका छन्। यसै क्रममा नेपाली कलाकारहरू पनि राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन्।
अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले हालै दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’को केन्द्रीय सदस्यको जिम्मेवारी लिएकी छिन्। यो पार्टी व्यवसायी वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईंसहित स्थापित गरिएको हो। निशाले अब अभिनयसँगै राजनीतिमा पनि सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन्।
त्यसैगरी, अभिनेत्री तथा कार्यक्रम उद्घोषिका रीमा विश्वकर्मा ‘उज्यालो नेपाल पार्टी’मा आबद्ध भई केन्द्रीय सदस्य बनिन्। यस पार्टीको स्थापना ऊर्जा मन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा भएको हो। रीमाले पार्टीका ५१ पदाधिकारीको विवरणमा औपचारिक रूपमा हस्ताक्षर गरेकी छन्।
अर्को कलाकार, अभिनेत्री एलिजा गौतमले ‘जनादेश पार्टी नेपाल’मा प्रवेश गर्दै केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेकी छिन्। उनले यसअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्, तर ६ महिनाभित्र पार्टी छोडेकी थिइन्। एलिजाले जनादेश पार्टीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्य राखेको बताएकी छन्।
निर्वाचन नजिकिँदै गर्दा कलाकारहरूको राजनीतिक गतिविधि अझ बढ्ने र विभिन्न दलहरूमा प्रवेश बढ्ने अनुमान गरिएको छ।





































