दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्म ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न सफल भएको छ।
आफ्नो प्रदर्शनको तेस्रो सातामा फिल्मले प्राप्त शो सङ्ख्यासमेत बढेको छ । फिल्मले शुक्रबार मात्र देशभर २ सय १० वटा शो प्राप्त गरेको छ। फिल्म हेर्न आउने दर्शकको फुटफलका कारण हलहरूले यो सङ्ख्यामा फिल्मलाई शो उपलब्ध गराएका हुन्। आज (शनिबार) बिदाको दिन पनि यही सङ्ख्याको शो जारी रहने अपेक्षा गरिएको छ।
फिल्मले रिलिज हुँदा केबल ६४ शो मात्र पाएको थियो भने पहिलो दिन वक्सअफिसमा ६ लाख रुपैयाँको बिर्सनलायक ग्रस कलेक्सन गरेको थियो।
फिल्मलाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वमा रहेको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो। फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङ आदिको अभिनय रहेको छ।





































