निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ २’मा मुकुन भुसालको ठाउँमा महेश त्रिपाठी भित्रिएका छन् । यो फिल्मको कथाअनुसार कलाकार रिप्लेस गरेको निर्देशक देउजाले बताए। 

उनले भने,-‘अब मुकुन फिल्ममा छैनन् । मैले हटाइसकेको छ। उनको ठाउँमा महेश त्रिपाठी अनुबन्धित पनि भइसकेका छन् ।’ फिल्ममा महेशले केकीको श्रीमानको भूमिकामा निभाउनेछन् । 

यो सुपरहिट फिल्म ‘झिँगेदाउ’को यो सिक्वेल हो । आगामी मंसिर १५ गतेबाट छायांकन सुरु हुन लागेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्टलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन् । 

घरेलु बक्स अफिसमा ४ करोडमाथिको व्यापार गरेको यो फिल्म जहाँ अन्त्य भएको थियो, त्यहीँबाट यसको सिक्वेल सुरु हुने जनाइएको छ । दुई छोरा र बुहारीबिचको झगडा उत्कर्षमा पुगेपछि आमा निराश भएर वृद्धाश्रम गएपछि फिल्म टुंगिएको थियो । २०७९ सालमा प्रदर्शन भएको ‘झिँगेदाउ’ समीक्षात्मक र व्यावसायिक दुवै हिसाबले सफल थियो ।