लोकप्रिय साङ्गीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै ब्याण्डले आउँदो २८ कात्तिकदेखि ठमेलको एक्सओ क्लबमा कार्यक्रम गर्न लागेको जानकारी दियो । पस्थापनाको ३२ वर्षमा ब्याण्ड दोस्रोपटक काठमाडौँमा गुञ्जिन लागेको हो ।

विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौँ कलिङ कन्दरा’ कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले ब्याण्डले अघि सार्न लागेको ‘रिदम अफ चेन्ज’ थिमअन्तर्गत यो कन्सर्ट हुन लागेको बताए । 

उनले उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँग जोडिएको बताए । ‘मुलुक परिवर्तनको सङ्घारमा छ । संगीतमार्फत हामीले मुलुकको परिवर्तनमा हातेमालो गर्न खोजेको हो’  श्रेष्ठले भने, ‘यो कन्सर्ट हाम्रो आवाज हो । एक्सोमा हुन लागेको कन्सर्ट हाम्रो थिमअन्तर्गतको पहिलो कन्सर्ट हुनेछ ।’

श्रेष्ठले क्लबमा गर्नुको उद्देश्य मनोरञ्जन गर्नु मात्र नभएर युवापुस्तासँग जोडिने प्रयास पनि बताए । ब्याण्डले गत वर्ष पहिलोपटक काठमाडौँ कन्सर्ट ठमेलस्थित एलओडीमा गरेको थियो । 

‘हामी रिदम अफ चेन्जलाई सामाजिक र आर्थिक परिवर्तनसँग जोड्न चाहन्छौँ’ उनले भने, ‘सङ्गीतमा पनि यो परिवर्तन लागू हुन्छ । हामीले फ्रन्टम्यानलाई पनि चिन्यौँ । पर्दा पछाडिकालाई चिनेनौँ ।’ 

अबको १ महिना नेपाल र त्यसपछि विदेशका विभिन्न मुलुकमा ‘रिदम अफ चेन्ज’ टुर हुने विवेकले बताए ।उनका अनुसार ब्याण्डले अमेरिका, क्यानडा, युरोप र एसियाली मुलुकमा टुरको तयारी गरेको छ । 

अबदेखि कन्दरा मनोरञ्जन मात्र नभएर, सामाजिक प्रभाव पार्ने मनोरञ्जनमा पनि सक्रिय हुने उनले बताए ।‘हामी अब सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट गर्दैछौं’ उनले भने, ‘अब ब्याण्डलाई त्यसरी अघि बढाउने तयारीमा छौँ ।’

३२ वर्षअघि पोखरामा जन्मिएको ब्याण्ड अहिले पनि दर्शकमाझ चर्चित छ । चन्चले कान्छी, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडीगोठैमा, लेककी हे माया ब्याण्डका प्रसिद्ध गीत हुन् ।